Saturday, March 6, 2010

भीरबाट खस्यो एम्बुलेन्स

खावा, २२ फागुन
जिरीबाट कान्ति अस्पताल काठमाडौंमा बिरामी बालक लिएर आएको जिरी अस्पतालको एम्बुलेन्स शनिबार बिहानै अरनिको राजमार्गको खावामा सडकबाट एक सय मीटर तल खसेको छ । विहान पौने चारबजे सडकबाट खसेको एम्बुलेन्समा चालकसहित चारजना सवार थिए । सबै जना सकुशल रहेको प्रहरीले बताएको छ । प्रहरीले एम्बलेन्स चालकलाई नियन्त्रणमा लिएको छ भने बिरामी र आफन्तलाई उद्धार गरी काठमाडौं पठाएको छ ।

बडालगाउँ जाने घुम्तीनजिकै सो एम्बुलेन्स खसेको थियो । स्थानीयवासीहरु सो स्थानबाट धेरै पटक मोटरसाइकल र गाडी खसिसकेको बताउँछन् । केही चालकहरुले गाडी चलाउँदै आउने क्रममा सो स्थानमा चारवटा बाटो देखिने बताए ।

चेलीबेटी बेचबिखन विरुद्ध लोकदोहोरी

पाँचखाल, २२ फागुन
एक सयौं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार काभ्रेको जैशीथोकमा आयोजित चेलीबेटी बेचबिखन विरुद्ध जनचेतनामूलक लोकदोहोरी प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको लक्ष्मी तामाङले उद्घाटन गरेकी छिन् । उनी बर्म्बईमा बेचिएर पछि फिर्ता भएकी नेपाली चेली हुन् ।मानव अधिकार शिक्षा तथा सूचना केन्द्र-हुरेन्स) ले आयोजना गरेको उक्त कार्यक्रम महिला वाच ज्याम्दी र अग्रसर महिला बहुद्देश्यिय सहकारी संस्थाले सह-आयोजना गरेका छन् ।

स्थानीय चण्डेनी माध्यमिक विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विभिन्न १० टीमले भाग लिएका छन् । प्रतियोगितामा वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, चर्चित लोकगायकहरु नवराज घोरासैने, हरि थापा, मन्जु गौतम, शान्ति बस्नेतले गीत गाएका छन् । युवाहरुका ढुकढुकी बनेका पप गायक हरि कर्माचार्य र कलाकार रामशरण जंगम समेत सहभागी भएका छन् ।

सहकारीकी अध्यक्ष सुन्तली सापकोटाको अध्यक्षताको कार्यक्रममा हुरेन्सका अध्यक्ष भोजराज तिमल्सिनाले चेलीबेटी बेचबिखनविरुद्ध लाग्नका लागि लोकदोहरी तथा सडक नाटकजस्ता कार्यक्रमले मद्दत गर्ने बताए । काभ्रे जिल्ला हुँदै छिमेकी जिल्लाका चेलीबेटीहरु लैजाने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय समुदायहरु पनि सक्रिय र चनाखो हुनु पर्नेमा जोड दिए ।

बेपत्ताको नाममा झुक्याएर राहत लिने गिरफ्तार

सिन्धुपाल्चोक, २३ फागुन
सशस्त्र द्वन्द्वको बेला राज्यद्वारा बेपत्ता बनाएको भन्दै जिल्ला प्रशाससन कार्यालयलाई झुक्याएर राहत लिने नवलपुर गाविस- ६ का चिनबहादुर तमाङलाई ०६६ फागुन २० गते प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्दा चलाउने तयारी गरिरहेको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको बेला नक्कली माओवादी बनेर काठमाण्डौको बौद्ध क्षेत्रमा ।

आतंङ्क तथा लुटपाट गर्दै हिँडेका चिनबहादुर तमाङलाई द्वन्द्वको बेला सेनाले गिरफ्तार गरी केहि दिन सैनिक हिरासतमा राखी रिहा गरेको थियो । त्यसैबेलादेखि काठमाण्डौ बस्दै आएका तामाङलाई नवलपुर गाविसको सर्वदलीय बैठकले बेपत्ता भएको भनी निर्णय गरेको आधारमा उनकी पत्नीले जिल्ला प्रशासन कार्यालय बाट राहत स्वरुप एकलाख रुपिया लिएकी थिइन् ।

जिप दुर्घटनामा २ को मृत्यु

सिन्धुपाल्चोक, २३ फागुन
अरनिको राजमार्ग अर्न्तर्गत सिन्धुपाल्चोकको चेहरेमा गएराती बलेरो जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा दोलखा घर भइ काठमाडौं बस्ने डम्बर उप्रेती र झापा घर भई भक्तपुर बस्ने रोशन शिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुहरुको घटनास्थलमै मृत्यु भएको थियो ।


त्यस्तै दोलखा सुनखानी-९ का ३६ वर्षीय टेकराज शिवाकोटी, सोही ठाउ“का ३० वर्षीय अशोक शिवाकोटी र ओखलढुंगा तार्केघारी-६ का ३० वषर्ीय दिशान्त विष्ट घटनामा घाइते भएका छन् । घाइते शिवाकोटीद्धयको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
दोलखामा हिजो भएको शिवाकोटी समाजको भेलामा भाग लिएर राजधानी र्फकंदै गर्दा राति ११ बजे बा७च ८३७६ नम्बरको बलेरो दर्घटना भएको हो ।

Wednesday, March 3, 2010

धादिङ सदरमुकाम तनावग्रस्त

धादिङबेसी २० फागुन
नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले स्थानीय वाइसीएल कार्यकर्ता गोविन्द घिमिरे माथि विहीबार विहान आक्रमण गरेपछि धादिङ सदरमुकाम धादिङबेसी तनावग्रस्त भएको छ ।काङ्ग्रेस जिल्ला सदस्य नारायणकुमार श्रेष्ठ र स्थानीय कार्यकर्ता राधाकृष्ण भण्डारीको नेतृत्वमा आएका युवाहरुको एक समूहले घिमिरेमाथि आक्रमण गरेको वाइसीएल धादिङले जनाएको छ । घाइते घिमिरेको सहिद मेमोरीयल अस्पताल धादिङवेसीमा उपचार भईरहेको छ ।

घटनाको विरोधमा वाईसियलले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले केही राउण्ड हवाई फायरसमेत गरेपछि धादिङबेसी तनावग्रस्त भएको छ ।धादिङकै पुल हाउस एण्ड रेष्टुरेन्टमा आक्रमणकारीहरु पेस्तोल र तरवारसहित बसेका भएपनि प्रहरीले पक्राउ नगरेको भन्दै वाईसिएलले विरोध जनाएको छ ।

अनमिनले सरकारलाई सूचना दिएन-रक्षामन्त्री

धुलिखेल, १९ फागुन
रक्षामन्त्री विद्यादेवी भण्डारीले सरकारलाई सूचना नदिएको आरोप लगाएकी छिन् । उनले माओवादी लडाकुको रेखदेख गर्ने अनमिनको भुमिका ठीक नभएकोसमेत दावी गरिन् । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ काभे्रले १०० औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधबार धुलिखेलमा आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री भण्डारीले सरकारले अनमिनसँग शिविरका माओवादी लडाकुको तथ्याङ्क माग्दा टेडो कुरा गरेको आरोप पनि लगाइन् ।

उनले भनिन् 'माओवादी लडाकुको तथ्याङ्क माग्दा गोप्य सूचना माग्यो भनेर अनमिनले उल्टै सरकारलाई आरोप लगायो ।' अनमिनले सरकारलाई तथ्याङ्क भन्नैपर्ने बताउँदै उनले नेपाली ढुकुटीबाट पालिने माओवादी लडाकुको तथ्याङ्क दिन अनमिनलाई अप्ठेरा नपर्ने उनको भनाई थियो ।
उनले अनमिनलाई शान्ति सम्झौतापछि माओवदीका लडाकुलाई बढाएर २५ हजार पुर्‍याइदिएको र तीन बर्षशिविरमा राखेर तालिम दिएको आरोप लगाईन् ।

शिविरमा रही अयोग्य भनिएका लडाकुमध्ये २ हजार छ सय मात्रै वास्तविक लडाकु र बाँकी १९ हजार पाँच सय ५० मध्ये पनि ५० प्रतिशत मात्रै लडाकु भएको उनले बताइन् । उनले् अहिले पनि शिविरमा लडाकु नदेखिएको दावी गरिन् ।

अनेम संघ जिल्लाध्यक्ष राममाया श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभासद्द्वय कृष्णप्रसाद सापकोटा र शिला कतिला, एमाले जिल्लाध्यक्ष गोकुल बाँस्कोटा, नेपाल पब्लिक क्याम्पसको केन्द्रीय कोषाध्यक्ष एवं महिला नेतृ अम्बुभवानी कार्कीलगायतले आ-आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।

दोलखामा ट्रक पल्ट्यो, दुईको मृत्यु

दोलखा, १९ फागुन
दोलखाको तामाकोशी बजार नजिकै ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।नाम्डु गाविसमा भएको दुर्घटनामा एक घाइते र एक हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। दुर्घटना भएको बा २ ग १७१३ नम्बरको ट्रक कम्पनीको भीर भन्ने स्थानमा खसेको हो।

दुर्घटनास्थल चरिकोटबाट १९ किलोमिटर जिरीतर्फ पर्छ। टनास्थलतर्फ प्रहरी परिचालन भएको दोलखा प्रहरीले जानकारी दिएको छ।