Wednesday, March 3, 2010

लेखनवृत्तिको रकम घर भाडामा !

भवन बन्ने कहिले हो ?
बनेपा, २० फागुन
नेपाल पत्रकार महासंघ, काभ्रे शाखाले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न आएको रकम घरभाडा तिरेर दुरुपयोग गरेको छ । महिलाहरूका समस्यामा केन्द्रित भएर समाचार लेख्ने महिला पत्रकारलाई एउटा समाचार लेखेवापत रू. १ हजार लेखनवृत्ति दिने निर्णय गरेकोमा हालसम्म आफूहरूले उक्त रकम पाउन नसकेको महिला पत्रकारहरु वताउँछन् ।

आफूले समाचारको अभिलेख सहित बुझाएको महिनौं बितिसक्दा पनि आफूले लेखनवृत्ति प्राप्त गर्न नसकेको उनीहरुले वताए । पत्रकार उमा सिंहको १३ दिनको पुण्य तिथिको अवसर पारेर संचालन गरेको महिला पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमको रकम दुरुपयोग गरी घर भाडामा प्रयोग भएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाका एक सदस्यले बताए ।

दशैंअगाडि नै जिविसबाट प्राप्त रू. ५० हजारमध्ये केही रकम घर भाडामा प्रयोग गरेको र बाँकी रकम पनि लेखनवृत्ति स्वरुप दिनु पर्नेमा हालसम्म नदिएको भन्दै महिला पत्रकारहरूले असन्तुष्टि पोेखेका छन् ।

उता पत्रकार महासंघ काभ्रेको भवन बनाउन ६ महिना अघिदेखि नै शिलान्यास गरे पनि हालसम्म भवन निर्माणको कुनै काम सुरु हुन सकेको छैन । गत भदौ ३१ गते निकै तामझामका साथ बनेपा नगरपालिकाले दिएको जग्गामा महासंघले भवन बनाउन शिलान्यास गरेको थियो । सञ्चारमन्त्री शंकर पोख्रेलले महासंघको साधारणसभाको अवसर पारेर भवनको शिलान्यास गरे पनि हालसम्म थप कामअगाडि नबढेपछि भवन बन्नेमा आम पत्रकार विश्वस्त हुन सकेका छैनन् ।

No comments:

Post a Comment