Monday, March 1, 2010

मजदूरले पाएनन कामको ज्याला

रामेछाप, १८ फागुन
आफूले गरेको कामको ज्याला नपाएपछि यहाँका मजदूर समस्यामा परेका छन् । मन्थली गाल्पा सडक खण्डको भटौली खोलामा निर्माणाधीन कजवेको काम रोकिएपछि सयौं मजदुरहरु ज्याला पाउनवाट रोकिएका हुन् । मन्थली-पकरवास गाल्पा सडक खण्ड अन्तर्गत मुगिटारको भटौली खोलामा मोटरवाटोको लागि कजवे निमार्ण भइरहेको वेलामा स्थानीय जनताको अवरोध पछि निर्माण रोकिएको थियो । सो निर्माण कार्य रोकिएपछि सयौं मजदुरहरुले काम गरेको ज्याला पाउन सकेका छैनन् ।

निर्माण कार्य रोकीएपछि दातृले पैसा भुक्तानी दिन सक्ने अवस्था पनि नभएकोले उनीहरुले काम गरिसकेको पारिश्रमिक समेत दिन नसकिएको ठेकेदार कम्पनीका प्रतिनिधि रामवहादुर तामाङ्गले वताए । निर्माण भइसकेको कतिपय काम पनि भत्कन लागिसकेको जानकारी तामाङ्गले दिए ।

करीव ९६ लाखको ठेक्कामा निर्माण हुन लागेको उक्त कजवे निर्माणमा अवरोध पुगेपछि मजदुरहरु मात्र हैन ठेकेदार अन्य सर्वसाधारणलाई समेत समस्या परेको छ । कजवे निर्माणका लागि आवश्यक पर्ने सवै सामाग्रीहरु सिमेन्ट वालुवा ढुङ्गा र तारजाली समेत जम्मा गरिसकेको अवस्थामा आफुहरुले यस अघि गरेको कामको भुक्तानि पनि पाउन नसकेको र काम रोकिएपछि कामको खोजीमा अन्यत्र जान पनि समस्या भएको मजदुरहरु वताउँछन् ।

यसै विच भटौली खोलाको कजवे निर्माण कार्यमा गरिएको अवरोध हटाउनका लागि स्थानीय वासिन्दाले जिविस रामेछापमा निवेदन दर्ता गराएका छन् । जग्गा धनीहरु समेत ५३ जना सर्वसाधारणले हस्ताक्षर गरी स्थानीय विकास अधिकारी दिलीप कुमार चापागाईलाई वुझाएको ज्ञापन पत्रमा तत्काल कजवे निर्माणको काम अघि नवढाए आफुहरु आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी दिँदै बलवहादुर माझीको अधयक्षतामा २१ सदस्यीय समिति समेत गठन गरेका छन् ।

No comments:

Post a Comment