Wednesday, February 24, 2010

माओवादी धम्कीसँग डराइन्न : प्रधानमन्त्री नेपाल

काठमाडौँ, ११ फागुन
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले जङ्गल छाडेको धेरै वर्ष भइसकेकाले अब उनीहरूले शिष्ट व्यवहार गर्नुपर्ने र धम्कीपूर्ण भाषा बोल्न नहुने बताएका छन्। माओवादीका धम्कीले नडराउने भन्दै नेपालले थपे- राणा, पञ्चायत र ज्ञानेन्द्रसँग त डराएनौँ, माओवादीका धम्कीले डराउने कुरै आउँदैन।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सातौँ सञ्चालक परिषद् बैठकको मङ्गलबार ललितपुरमा उदघाटन गर्दै उनले भने- आगामी जेठ १४ गतेभित्र नयाँ संविधान जारी हुन्छ, यो समयसीमा बढाउने काम कहीँ कतैबाट गरिनुहुन्न।

एकीकृत नेकपा (माओवादी) का लडाकु समायोजन र व्यवस्थापनमा आएको अड्को फुकाउने प्रयत्न भइराखेको बताउँदै प्रधानमन्त्री नेपालले भने- लडाकु समायोजन र व्यवस्थापन नगराई नयाँ संविधान जारी गर्न नसकिने हुनाले यस कार्यमा सरकारलाई सहयोग पुर्‍याउन म सबै राजनीतिक दलसँग आग्रह गर्दछु।

प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रधान मन्त्री नेपालले जनजातिका हितको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै यसका लागि आवश्यक कार्यक्रम तय गर्न प्रतिष्ठानलाई निर्देशन दिए।

जातीय विविधताले राष्ट्रिय पहिचान बढ्ने हुँदा एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरेर अगाडि बढ्नु जरुरी रहेको धारणा पनि उनको थियो।

No comments:

Post a Comment