Sunday, February 28, 2010

सीमा प्रहरीको दरबन्दी थप गर्न माग

दोलखा, १६ फागुन
चीनबाट दोलखाको लामावगर नाका हुँदै अबैध प्रवेश गर्ने तिब्बतीको संख्या बढेपछि सीमा प्रहरीको दरबन्दी थप गर्न माग गरिएको छ । यो आर्थिक बर्षमात्र ५३ तिब्बतीलाई दोलखा प्रहरीले पक्राउ गरी अध्यागमनमा बुझाइसकेको छ । अघिल्ला दुई आर्थिक बर्षमा एकजना पनि तिब्बतीहरु पक्राउ पर्न सकेका थिएनन । आर्थिक बर्षको साउन महिनादेखि नै अबैध प्रवेशको लहरले सीमा प्रहरीलाई पक्राउ गर्ने र बुझाउन ल्याउन झमेला थपिएको छ ।

अबैध तिब्बती प्रवेशको समस्या थपिएपछि १६ जनाको दरबन्दी रहेको सीमा प्रहरी लामावगरमा ३५ जनाको दरबन्दी बनाउन प्रस्ताव गरिएको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए । प्रक्राउ गरेपछि सदरमुकाम ल्याउन दुई दिन लाग्ने हुँदा त्यति दरबन्दी अपुग भएको उनले बताए ।

प्रहरीका अनुसार यो बर्षको साउनमा ७ जना, कात्तिकमा ८ जना, माघमा १७ जना र फागुनको अहिलेसम्म २१ जना तिब्बती पक्राउ परिसकेका छन् । चीनको फलाक नाकाबाट लुकिछिपी छिचोलेर लामावगर क्षेत्र आएपछि स्थानीयवासीको खवरले उनीहरुलाई पक्राउ गर्ने गरिएको छ ।

उनीहरुलाई नेपालीले सीमा प्रहरीसम्म ल्याइदिने वा सिधै काठमाडौं लाने गरेको भेटिएको छ । फागुन महिनामा प्रवेश गर्ने तिब्बतीसँग लामावगरका पुष्कर खत्री पक्राउ परेका थिए । उनी त्यस्तो काममा पहिलेदेखि सक्रिय भएको सुइको प्रहरीले पाएको थियो । कार्वाहीका लागि दोलखा प्रहरीले उनलाई पनि अध्यागमनमै पठाएको छ । अबैध तिब्बती भित्राउन सक्रिय गिरोहले पैसामा काम गर्ने गरेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । तिब्बतबाट दलाई लामाको दर्शन र स्वतन्त्रताको आकर्षण देखाई तिब्बतीलाई त्यहीँको गिरोहले नेपाल पठाइदिने शंका गरिएको छ ।

'पक्राउ परेपछि मुठ्ठी बाधेर दुई हातको बुढी औला देखाउदै दलाई भन्दै भुईतिर घोप्टो पर्ने गर्छन,' प्रहरी नायव उपरीक्षक सिंहले भने । अग्रेजी र नेपाली नबुझ्ने भएकोले प्रहरीले सम्बादमा कठिन महशुस गर्दै आएको छ । उनीहलाई अध्यागमनसम्म लाने स्रोतसाधनको अभाव पनि प्रहरीलाई छ । अध्यागमन पुर्‍याइएका तिब्बतीहरुलाई शरणार्थी परिचयपत्र दिने व्यवस्था छ । बाषिर्क रुपले परिचयपत्र नवीरकण गरेपछि उनीहरु नेपालको जुनकुनै स्थानमा शरणार्थी जीवन बिताउँन पाउने छन् ।

दोलखा प्रहरीलाई ०६४ र ६५ मा भने अबैध प्रवेशको झमेला परेन । ०६३ सालमा २२ जना तिब्बती पक्राउ परेका थिए । त्यसपछि ०६६ सालमा भने लगातार प्रहरीले यो समस्या झेल्नु परेको छ । ०६० मा द्धन्दले जिल्ला प्रहरी कार्यालय सार्नु परेकाले त्यस अघिको तथ्याङ छैन ।

No comments:

Post a Comment